काठमाडौं, जेठ ८ । सरकारले लिम्पियाधुरासहित छुटेका भू–भाग समेटेर नयाँ नक्सा जारी गरेपछि नक्सा बदल्न आफूले पहल गरेको भन्दै सत्तारुढ नेकपाका नेताहरुबीच जस लिन होडबाजी सुरु भएको छ ।

नक्सा छाप्ने प्रस्ताव आफूले नै गरेको हो भन्दै नेकपाका नेताहरु जनसमर्थन लिने होडबाजीमा लागेका छन् ।

नेकपाका केही नेतामा नक्सा छापिएको खुसीभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवादी’ छवि पुनः उद्घाटित भयो कि भन्ने चिन्ता देखिन्छ ।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नीति तथा कार्यक्रमका मूलभूत कुराहरू प्रकाश पार्दै भारतसँग वार्ता र छलफलको माध्यमबाट अहिलेको समस्या हल गरिने बताएका थिए ।

तर, माधव नेपालले नीति तथा कार्यक्रम मूर्त हुनुपर्ने भन्दै लिपुलेकसहितका भू–भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्नुपर्ने अडान राखेको बताउँदै आएका छन् ।

झलनाथ खनालको पनि तर्क त्यही छ ।

तर, पार्टीभित्रको एउटा समूहले ओलीकोमात्रै प्रशंसा गर्न थालेपछि वामदेव गौतमले असन्तुष्टि प्रकट गरेका छन् ।

उनले कुनै एक व्यक्तिको देवत्वकरण गर्न उचित नहुने भन्दै नक्सा छाप्ने निर्णयको प्रस्तावक नै आफू भएको दाबी गरेका छन् ।

यसले नेकपाभित्र राष्ट्रियताको सवालमा गुट–गुटमै जस लिने होडबाजी त चलेको होइन ? भन्ने प्रश्न उब्जाएको छ ।

होइन भने यसरी अहिले नै जस लिने नेताहरुले सुगौली सन्धिको धारा ५ ले महाकालीलाई नेपालकै भनेकोमा २०५२ सालमा आधा पानी प्रयोग गर्नेगरी गरिएको महाकाली सन्धिले पार्टी विभाजनमा पुग्दासमेत लिम्पियाधुराप्रति सबै मौन किन थिए त ? भन्ने प्रश्न पनि उत्तिकै उब्जिएको छ ।

सीमा विवादबारे थाहा हुँदा–हुँदै पनि त्यसलाई समाधान नै नगरी संसदबाट महाकाली सन्धि पारित गर्नुको हतारोले त्यो बेलामा लिम्पयाधुराको विवाद बेवास्ता गरिएको तत्कालीन एमालेका प्रचार विभागका सचिव हरि रोक्का बताउँछन् ।

‘लकडाउन’काबीच जनता सडकमै आएर आफ्नो भूमिप्रतिको अतिक्रमणविरुद्ध धावा बोलिरहँदा मुलुकको सार्वभौमिकतासँग जोडिएको विषयमा सिंगो शासनसत्ता एक भएर लाग्नुपर्नेमा आफूलाईमात्र जस दिनुको औचित्य नरहेको बताउँछन्, राजनीतिक विश्लेषक रोक्का ।

राष्ट्रियताका विषयमा कुनै एक व्यक्तिलेमात्र जस लिनुभन्दा यसलाई सबैको स्वामित्व हुने विषय बनाउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here