बर्षौँदेखी बालिघरे बराजुको
हँसिया बनाउन
आरनमा फलाम ठटाउँदै
हातमुख जोरेको त्यो मान्छे !

छोइछिटो बार्नुपर्ने
पानी नचल्ने
पुस्तौंदेखि जात नामको
जाँतोले पिसिएर
बिटुलो नियतिले बाँचेको त्यो मान्छे !

निडर ध्वनिको धुनमा
मुक्तिको गित
गाउँदै हिडेथियो !

सामन्तिको उठिबास लाउन
विभेदको पर्खाल भत्काउन
हुने र नहुने बिचको खाडल पुर्न
हँसिया बनाउने हातले
बन्दुक बनाउन थालेथियो !

प्रेम, भातृत्व, मानबता
सह-अस्तित्व, एकता
सद्भावका रङ्ग बोकी
क्रान्तिको यात्रामा
हिडेका साथीसँग
सहभोज गर्न पाउँदा
खुसीले निथ्रुक्क हुन्थियो !

तर हिजो मात्र
युद्धकालिन घाइते शरिरको
काँधमा टेकेर
सत्ताको आसिनमा पुगेका साथिहरुले
घाइते संबेदनाको सन्दुकलाई
जतन नगरिदिनाले
फेरि अछुत नाममा
छोराको गर्धन छिनियो
आज उस्तै बेरङ्गी
बनेको छ त्यो मान्छे !

साच्ची !
उसको जिन्दगी र समयलाई
कसरी थुम्थुम्याउँदो हो ऊ
के तपाइँ जान्न सक्नुहुन्छ?

✍️हिमाल थापा क्षेत्री ( १४ जेठ, २०७७)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here