सरकारले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) मा आउने बिशिष्ठ पाहुनाहरुका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरिरहेका कार उपलब्ध गराउने भएको छ।

सवारीसाधन र सुरक्षा व्यवस्थापनको जिम्मेबारी पाएको गृहमन्त्रालयले सरकार मातहत रहेका सवारी साधनहरुको लगत निकालेपछि राष्ट्रपति र प्रधानमन्त्रीले प्रयोग गर्दै आएको सवारीसाधन सम्मेलन अवधिभर ती सवारी साधन विदेशी पाहुनाका लागि प्रयोग गर्ने भएको हो।

बिमस्टेकमा आउने सात राष्ट्रका प्रमुख, उनको परिवारका सदस्य, मन्त्री र सचिवसम्मलाई बेग्लाबेग्लै सवारीसाधन उपलब्ध हुनेछ।

यसका लागि मन्त्रालयले सेना, प्रहरी र यातायात मन्त्रालयका प्रतिनिधि सम्मिलित बिज्ञ समुहलाई उपलब्ध गाडीको अवस्था अध्ययनको जिम्मेबारी दिएको थियो।

उनीहरुको सुझावका आधारमा राष्ट्र प्रमुख, सरकार प्रमुखका कार्यालय, मन्त्रालय, विभाग तथा आयोजना र परियोजनामा रहेका सवारी साधनको लगत निकालेर त्यसको जाँचसमेत गरिसकिएको छ।

मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बिमस्टेक सम्मेलनलाई आवश्यक पर्ने बुलेटप्रुफ बाहेकका सवारी साधन देशभित्रै खोजी गरेर प्रयोग गरिने बताए। नेपाल सरकार मातहतमा रहेका सवारीसाधनको अवस्था अनुसार विज्ञ टोलीको सुझावमा प्रयोग हुने जानकारी पनि उनले दिए।

‘मुलुकले आयोजना गरेको शिखर सम्मेलन भएकाले भएका स्रोत–साधनको अधिकतम उपयोग हुनेछ,’ सहसचिव सुवेदीले भने, ‘बुलेटप्रुफ, मझौला र एम्बुलेन्स भने भाडामा लिएर कारगेट चलाउने तयारी भइरहेको छ।’

सुरक्षा योजना पुरा
बिमस्टेक सुरक्षाका लागि चारै सुरक्षा अंगको सहभागितासहितको प्रारम्भिक सुरक्षा योजना तयार भएको छ। शिखर सम्मेलन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सहभागितासहितको सुरक्षा योजना बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पारित गरेका छन्।

 

विमानस्थलबाट छुटेकाे भिभिअाइपी सवारी

विमानस्थलबाट छुटेकाे भिभिअाइपी सवारी

गृह स्रोतका अनुसार नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनको सुरक्षा योजनालाई आधार बनाएर बिमस्टेक सम्मेलनको सुरक्षा योजना बनेको छ। बिमस्टेक सुरक्षाको कमाण्ड गृहमन्त्रालयले सम्हाल्ने गरी सुरक्षाकर्मी परिचालन, सूचना संकलन, आपतकालिन उद्दार र कारवाहीसम्मको तयारी भएको छ।

‘सुरक्षाको एउटा फ्रेम तयार भइसकेको छ, तर यसमा अवस्था अनुसार फेरबदलपनि हुनसक्छ’, गृहस्रोतले भन्यो।

गृहबाट बिमस्टेक तयारी समितिको नेतृत्व गरिरहेका सहसचिव सुवेदीले हाललाई काठमाडौँ उपत्यकाका तीनै जिल्ला र रुपन्देहीलाई आधार बनाएर योजना बनाइएको बताए। उनका अनुसार बिमस्टेकमा आउने पाहुनाले चाहेमा लुम्बिनी समेत घुमाउन सकिने गरी सुरक्षा योजना बनाइएको छ।

‘बैठकमा बौद्ध धर्ममा आस्था राख्ने देशका बिशिष्ठ पाहुना समेत सहभागी हुनुहुन्छ।’ सुवेदीले भने, ‘चाहनु भएमा उहाँहरुलाई लुम्बिनी लैजान समेत तयार छौँ।’

बैठक स्थलको अवलोकन
बिमस्टेकको सुरक्षामा खटिने सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानीय प्रशासनसहितको टोलीले बुधबार (६ भदौ) बिहान बैठक आयोजना र कार्यक्रमस्थलको अवलोकन गरेको छ।

सेनाले महासेनानी, प्रहरीका एसएसपी, सशस्त्रका उपत्यका पृतनाका एसपी, राअबिका अनुसन्धान अधिकारी र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गोकर्ण फरेष्ट रिर्सोट, ह्यात रिजेन्सी होटल र होटल सोल्टीको अवलोकन भ्रमण गरेको हो।

भ्रमणमा सहभागी एक सदस्यका अनुसार खासगरी बिमस्टेकको बैठक र बिशिष्ठ पाहुना बस्ने होटल सोल्टीको सुरक्षा व्यवस्थाका बिषयमा अवलोकन भएको हो। यस्तै, टोलीले सरकारले विशिष्ठ पाहुनाका लागि गोकर्ण रिसोर्टमा आयोजनागर्ने रिट्रिट स्थलको समेत सुरक्षा अवस्थाका बिषयमा जानकारी लिएको छ।

बिमस्टेकमा सहभागी हुन सात राष्ट्रका प्रमुख र सरकार प्रमुख परिवारसहित १३ भदौमा नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारबाट राष्ट्रपति विन मिन्ट, थाईल्याण्डबाट प्रधानमन्त्री प्रयुत चा ओ चा नेपाल आउने तय भइसकेको छ।

यसैगरी भुटानबाट प्रधानन्यायाधीश छिरिङ वाङ्चुक, बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाबाट राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागिता जनाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here