शिशिर भण्डारी

नयां शत्ति
युवा नेता
हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । हिन्दू धार्मिक ग्रन्थ ‘शिवपुराणका’ अनुसार सत्ययुगमा जब सतीदेवीले आत्मदाह गरिन, तब उनको आत्मा हिमालयकी पत्नी मेनुकाको गर्भमा बस्यो र पार्वतीको रुपमा जन्मियो । तिनै पार्वतीले होस सम्हालेदेखि नै महादेवसँग मात्र विवाह गर्ने मनशाय आफ्ना सखीहरुलाई भनेकी थिइन । तर, आफ्नी सुन्दरी कन्या पार्वतीलाई महादेवजस्तो विषभाङ, धतुरो खाने, सर्पको माला लगाउने, बाघको छाला कम्मरमा बेरेर हिँड्नेलाई नदिई सुन्दर रुपका भगवान विष्णुलाई दिने निर्णय उनका बाबु हिमालयले गरे ।

योे कुरा छोरी पार्वतीले मन नपराएपछि यसबाट जोगाउन उनका साथीले उनलाई हरण गरेर लुकाएका कारण ‘हरितालिका’ रहन गएको किम्बदन्ती भेटिन्छ ।
पछि पार्वतीले आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन । उनी वनमा लुकेर तपस्यामा लीन हुने क्रममा एउटा जडीबुटी सेवनपछि महादेव प्रकट भई इच्छा सिद्धिको वर दिएका थिए रे पार्वतीले सेवन गरेको उक्त जडीबुटीको नाम नै ‘दर’ भएकाले र त्यसको सेवनपश्चात उनको मनोकांक्षा पूरा भएकाले त्यसको खुसियालीमा तिज मनाउन र दर खान थालेको कुरा किम्बदन्तीमा पाइन्छ । महादेव प्रकट भई पार्वतीलाई इच्छा सिद्धिको वर दिएको त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरुले यस दिनलाई एउटा उत्सव(तीज)को रुपमा मनाउन थालेको र यो तीज मनाउने चलन पौराणिक कालदेखि नै चल्दै आएको मानिन्छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले ब्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । पूर्वीय मान्यता अनुसार सृष्टि र समाज चल्नको लागि यसलाई अझ यसरी ब्यक्त गरौ की पूरुष प्रधान समाजमा महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको घरमा गएर बाँकी जीवन विताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, आमा–बुबा, भाइ–बहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा गएर जीवन विताउँदा आउने माइतीको याद र पराइघरको विभिन्न जिम्मेवारी र तनावकोे खाडललई कम गर्न एउटा महत्वपूर्ण अवसरको रुपमा यो तीज पर्वको गहन महत्व र अर्थ रहेको विभिन्न ब्याख्यामा पाइन्छ । यस पर्वमा महिलाहरुले मीठा मीठा भोजनका परिकारहरु खान्छन, नयाँ लुगा कपडामा सजिन्छन् । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताहरु सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरुले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरुलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।

तर, त्यही तीज आजभोलि तडक–भडक, अराजक र असभ्य बन्दै गएकोे छ । चाडवाड मनाउनु र परम्परागत संस्कृति जोगाउनु हाम्रो राम्रो काम र कर्तब्य हो । तर त्यसको नाममा अनावश्यक तडक–भडक गर्नु र बद्लीएको सामाजिक अधिरचना र परिवेश अनुरुप आफू र संस्कारलाई बदल्ने नाममा यसलाई बिकृत गर्नु हाम्रो जस्तो गरिब समाजलाई बिल्कुलै सुहाउने काम होइन । पहिला–पहिला छोरी बुहारीलाई एउटा दासको रुपमा ब्यबहार गरिन्थ्यो । मानिसको आर्थीक जीवनस्तर पनि अहिलेको तुलनामा कमजोर थियो, बुहारीले मिठो मसिनो खान पाउँदैनथे । बर्षभरिको कामपछि थाकेको मन र शरीरलाई विश्राम दिन माइत जान्थे । माइती पुगेका छोरीचेलीले आफ्ना दुःख र वेदनाका गाथा बाबुआमा र संगी साथीसमक्ष गीतमार्फत पोख्थे । यसले गर्दा हरितालिका तिज महिलाको दुःख बिसाउने चौतारी र साथीसंगी भेटघाट गर्ने अवसर बनेको थियो । मनको पीडा पोखेपछि उनीहरुमा वर्षभरिलाई उर्जा प्राप्त हुन्थ्यो ।
पार्वतीले महादेव पति पाएको रुपमा होस् वा श्रीमानको दीर्घायुको कामनाको लागि होस् वा असल श्रीमान पाउने चाहनाले नै किन नहोस् हाम्रो समाजमा मानिदै आएको हरितालिका तिज अब पहिलाजस्तो दुःखपीडा बिसाउने चौतारी रहेन । समय, सामाजिक परिवेश र प्रविधिको निकै विकाश भैसकेको आजको सन्दर्भमा सभ्रान्त र फुर्स्दिला दिदीबहिनी निकै अघिदेखि नै एक अर्काकहाँ भेला भएर दर खाने लहर बढ्दै गयो । यो परम्परा यसरी मौलायो कि तिजको नाममा गरगहनादेखि साडीको फेसन बढ्यो । एकै दिनमा तीनचार ठाउँमा दर खाने कार्यक्रम बन्न थाले । तिजका नाममा गरगहना र महँगा लुगाफाटोको प्रदर्शी घट्नुको साटो बढेको बढ्यै छ । तिजका नाममा हुनेखानेले सामाजिक हैसियत देखाउने गलत परम्परा बस्यो । तिजलाई प्रवर्धन गर्ने क्रममा सुरु भएको नकारात्मक असर हो तिजको नाममा देखिएको यो पछिल्लो तडक –भडक । यहाँ ध्यान दिनुपर्नै कुरा के छ भने एकातिर हामी खुसी हुन परम्परा धान्न तिज मनाइरहेका छौँ भने अर्का्तिर कमजोर आर्थिक हैसियत भएका दिदीबहिनीभित्र जागृत रहरहरुलाई कुण्ठित पनि गरिरहेका छौँ । यस अर्थमा तीजलाई हामीले भड्किलो र असभ्यमात्रै बनाउदै छैनौ की परपिडक पनि बन्दै छौं ।
हो संस्कार संस्कृतीलाई हामीले जगेर्ना गर्नु पर्छ । ब्रत बस्नु विज्ञानको दृष्टिले पनि शरीरलाई राम्रो हुन्छ, त्यो पनि समय मिलाएर गर्नु पर्छ, त्यो तीजमै बस्नु पर्छ भन्ने होइन ।

र केबल पतिकै लागि बस्नुपर्छ भन्ने पनि होइन । हो हामी सबैलाइ थाहा छ की केवल तीजमा एकदिन निराहार ब्रत बसेर श्रीमानको दीर्घायु वा असल श्रीमान पाउने कुरा पक्कै होइन । तर स्ंस्कृतीको संरक्षणको नाममा एकदिन भोको बस्नका लागि महिनौँदेखि दर खाँदै हिँड्नु, अरुको देखासेखी गर्नु, गलत ढंगले परम्पराको बिकृत विकाश गर्न खाज्नु कत्तिको जायज छ ? एकपटक सबैले मनन गर्नै पर्ने वेला आएको छ । साथै आमनेपालीको आम्दानीले वर्तमानमा आकासिएको महँगी झेल्न नसकिरहेको यस परिप्रेक्ष्यमा भड्किला बन्दै गएका हाम्रा चाडपर्वमा देखिने यस्ता होडबाजी न्यूनीकरण पनि गर्दै जाने हो कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here